देशभरका गणेश मन्दिरमा भक्तजनको घुइँचो

देशभरका गणेश मन्दिरमा भक्तजनको घुइँचो

मंगलवार, भाद्र ३० २०८३
मंगलवार, भाद्र ३० २०८३
  • देशभरका गणेश मन्दिरमा भक्तजनको घुइँचो

    काठमाडौँ, ३० भदौ । अग्रपूजाका अधिकारी भगवान् श्रीगणेशको जन्मोत्सवका रूपमा मनाइने गणेश चतुर्थीका अवसरमा आज बिहानैदेखि देशभरका गणेश मन्दिरमा भक्तजनको घुइँचो लागेको छ।

    भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यताअनुसार आज विशेष पूजा, आराधना र दर्शन गर्ने परम्परा छ। काठमाडौँ उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत प्रमुख गणेश मन्दिरमा बिहानैदेखि भक्तजनको लाम लागेको छ।

    शिव–पार्वतीका पुत्र गणेशलाई हिन्दू धार्मिक संस्कारमा सबैभन्दा पहिले पूजा गरिने देवताका रूपमा मानिन्छ। धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार हरितालिका तीजको व्रतपछि चतुर्थीका दिन गणेशको पूजा गरी जीवनमा विघ्नबाधा नआओस् भन्ने कामना गर्ने शास्त्रीय परम्परा छ।

    गणेश पुराणमा भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन र सुखशान्तिको कामना गर्दै व्रत बसेकाले चतुर्थीका दिन गणेशको पूजा गर्ने विधान उल्लेख छ।

    नेवार समुदायले गणेश चतुर्थीलाई ‘चथा’ पर्वका रूपमा मनाउने गर्छ। यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने परम्परा पनि छ। यस वर्ष गणेश चतुर्थी मङ्गलबार परेकाले पर्वको विशेष महत्व रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।

    राष्ट्रिय धर्मसभा नेपालले विसं २०६५ देखि गणेश चतुर्थीका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ। धर्मसभाका अध्यक्ष प्रा. डा. माधव भट्टराईका अनुसार आज विभिन्न गणेश मन्दिरमा पूजा–आराधना तथा प्रवचन कार्यक्रम आयोजना गरिएको छ।

    धर्मसभाले २०६५ सालदेखि गणेश रथयात्रासमेत गर्दै आएको छ। सामान्यतः भाद्र शुक्ल पञ्चमीका दिन गरिने रथयात्रा यस वर्ष पञ्चमी तिथि पनि आजै परेकाले गणेश चतुर्थीकै दिन आयोजना गरिँदै छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij