काठमाडौँ, २९ भदौ । नेपाली कांग्रेसमा महाधिवेशनको विषयलाई लिएर विवाद चर्किएको छ। संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि २३ गतेसम्म छुट्टै १५औँ महाधिवेशन गर्ने घोषणा गरेको छ।
संस्थापन पक्षले पार्टीलाई एकताबद्ध बनाउने विषयमा चासो नदिएको र संवादको प्रयासलाई बेवास्ता गरेको आरोप लगाउँदै संस्थापनइतर पक्षले सोमबार पत्रकार सम्मेलनमार्फत छुट्टै महाधिवेशनको घोषणा गरेको हो।
छुट्टै महाधिवेशन तयारी समितिका संयोजक प्रा. डा. शशांक कोइरालाले १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज १५ गतेदेखि वडा तहको अधिवेशन सुरु गर्ने जानकारी दिए।
कोइरालाले पार्टीको आधिकारिकतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा एकतर्फी रूपमा महाधिवेशनको कार्यतालिका अघि बढाउनु उचित नहुने बताए।
उनले भने, “वार्ता र संवादमार्फत सहमतिमा पुग्ने वा सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा नगरी एकलौटी रूपमा अगाडि बढ्नु कुनै पनि हालतमा उचित मान्न सकिन्न।”
पार्टीको भविष्यलाई केन्द्रमा राखेर कानुनी र राजनीतिक दुवै पक्षको सम्मान हुनेगरी समाधान खोज्नुपर्ने उनको भनाइ छ।
यसअघि संस्थापन पक्षले आइतबार कार्यसम्पादन समितिको बैठकबाट निर्णय गर्दै असोज ३ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो।
संस्थापन र संस्थापनइतर पक्षले फरक–फरक मिति घोषणा गरेसँगै कांग्रेसको महाधिवेशन विवाद थप पेचिलो बनेको छ।