काठमाडौँ, २९ भदौ । भारतले नेपाललाई दैनिक अधिकतम ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ। भारतको ऊर्जा मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै सेप्टेम्बर १३ देखि डिसेम्बर ३१, २०२६ सम्म नेपाललाई उक्त परिमाणमा विद्युत् निर्यात गर्ने निर्णय भएको जनाएको हो।
भारतले नेपाल विद्युत् प्राधिकरणलाई राति १२ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् उपलब्ध गराउनेछ। त्यसमध्ये मुजफ्फरपुर–ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ५४ मेगावाट विद्युत् आयात गर्न सकिनेछ।
भारतले सन् २०२७ जनवरीदेखि हुने विद्युत् निर्यातबारे सन् २०२६ डिसेम्बरमा समीक्षा गर्ने जनाएको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण जलविद्युत् आयोजनाका पूर्वाधारमा क्षति पुगेपछि नेपालमा विद्युत् आपूर्तिमा थप दबाब परेको छ। यही परिस्थितिलाई ध्यानमा राख्दै भारतले नेपाललाई सहयोग गर्न र ऊर्जा क्षेत्रमा दुई देशबीचको सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको जनाएको छ।
यस निर्णयसँगै बाढीबाट जलविद्युत् उत्पादन तथा प्रसारण संरचनामा परेको असरका बीच नेपाललाई विद्युत् व्यवस्थापनमा केही राहत पुग्ने अपेक्षा गरिएको छ।