रुकुमपश्चिममा पहिरोले वर्कसपमा क्षति, तीन घर जोखिममा

रुकुमपश्चिममा पहिरोले वर्कसपमा क्षति, तीन घर जोखिममा

आइतवार, श्रावण ३१ २०८३
आइतवार, श्रावण ३१ २०८३
  • रुकुमपश्चिममा पहिरोले वर्कसपमा क्षति, तीन घर जोखिममा

    रुकुम  । केही दिनदेखि परेको अविरल वर्षाका कारण रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५ शेरीगाउँमा पहिरो जाँदा वर्कसपमा राखिएका सवारीसाधनमा क्षति पुगेको छ । पहिरोका कारण आसपासका तीन घर जोखिममा परेका छन् । 

    आज दिउँसो मध्यपहाडी राजमार्गको सडक छेउमा धनबहादुर विकले सञ्चालन गर्दै आउनुभएको युग इन्जिनियरिङ वर्कसपमाथि एक्कासी पहिरो खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिए । पहिरोका कारण वर्कसपको एकतले जस्तापाता र फलामले बनेको ट्रस्ट भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको उनले बताए ।

    प्रहरी निरीक्षक परियारका अनुसार पहिरोले पदम केसीको रा१त ३७३६ र रा१त ३६१७ नम्बरका दुई ट्याक्टर च्यापिएका छन् । त्यस्तै, प्रविण डाँगीको बा१क २५०६ नम्बरको रोलर, मिक्स्चर तथा स्काभेटरका दुई वटा बकेटसमेत पहिरोले पुरिएका उनले जानकारी दिनुभयो । पहिरोका कारण बनिता मल्लको दुईतले पक्की घर, हरिबहादुर सुनारको एकतले टिनले छाएको घर र हेमबहादुर पाण्डेको दुईतले टिनले छाएको कच्ची घर जोखिममा परेका उनले जानकारी दिए ।

    प्रहरी, स्थानीयवासी र मुसिकोट नगरपालिकाको जेसिबीको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । जोखिममा रहेका घरबाट सर्वसाधारण तथा घरभित्र रहेका सामानलाई सुरक्षित स्थानमा सार्ने कामसमेत भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij