काठमाडौं । सरकारले रोल्पाका दुई गाउँपालिकामा पहिरोबाट प्रभावित परिवारलाई तत्काल राहत तथा आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालले विज्ञप्ति जारी गर्दै थवाङ गाउँपालिका–५ केटलबारा तथा सुनछहारी गाउँपालिका–२ फलबाङ र गिच्छेका पहिरो प्रभावितलाई आवश्यक सहयोग उपलब्ध गराउने जानकारी दिएका हुन्।
सरकारले पहिरोमा परी मृत्यु भएकाहरूका परिवारलाई आर्थिक सहायता तथा बेपत्ता भएका र घरमा क्षति पुगेका परिवारलाई तत्काल राहत उपलब्ध गराउने जनाएको छ। घरबारविहीन भएका परिवारका लागि अस्थायी आवासको व्यवस्था तथा निजी आवास पुनर्निर्माणका लागि समेत आवश्यक सहायता उपलब्ध गराइने कार्यालयले जनाएको छ। पहिरोमा परी हालसम्म १५ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
दुई जना अझै बेपत्ता रहेको जनाइएको छ। साउन २७ गते आएको पहिरोपछि उद्धारका लागि लुम्बिनी प्रदेशका डीआईजी भुपेन्द्र खत्रीसहित सुरक्षा अधिकारी घटनास्थल पुगेका थिए। त्यसको भोलिपल्ट साउन २८ गते पनि अविरल वर्षासँगै आएको पहिरोले थप क्षति पुर्याएको थियो। पहिरोका कारण निजी घर, गोठ तथा घुम्ती पसलमा क्षति पुगेको छ। घटनास्थलमा खोज तथा उद्धारको काम अझै जारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
घटनाप्रति सरकारले दुःख व्यक्त गर्दै प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। यसअघि रोल्पाका सांसद वर्षमान पुन ‘अनन्त’ ले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर पहिरोबाट भएको क्षतिबारे जानकारी गराउँदै प्रभावितलाई तत्काल राहत तथा आर्थिक सहायता उपलब्ध गराउन आग्रह गरेका थिए।