कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज प्रदेश कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
यसअघि आज बिहान प्रदेश प्रमुख मियाँले भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । मुख्यमन्त्री नियुक्तिका लागि भट्टले आजै बिहान प्रदेश प्रमुखको कार्यालयमा पुगेर दाबी पेस गरेका थिए ।
भट्टलाई नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले समर्थन गरेका थिए । प्रदेश सभाका बहुमत सदस्यको दाबी पेसपछि प्रदेश प्रमुखले संविधानबमोजिम भट्टलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । आज शपथग्रहण गर्नुभएका भट्टले सुदूरपश्चिमको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको यो पाँचौँपटक हो ।
मुख्यमन्त्री भट्टको शपथसँगै सुदूरपश्चिम प्रदेश सरकार गठनको प्रक्रिया अघि बढेको छ । एमालेबाट सरकारमा सहभागी हुने मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।