बागलुङ । बाढी पहिरोका कारण कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण बागलुङ नगरपालिका–१३ स्थित कालाखोला बगरमा पहिरो खस्दा कालीगण्डकी कोरिडोर बिहानैदेखि सडक अवरूद्ध भएको हो ।
मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको बुर्तिवाङ–निसीखोलाखण्डको निसीखोला गाउँपालिका–४ कानाबजारनजिक ठाडाखोलामा बाढी आउँदा मध्यपहाडी लोकमार्ग अवरूद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार, दुवै राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय, मध्यपहाडी लोकमार्ग आयोजना तथा कालीगण्डकी करिडोर कार्यालयसँग समन्वय भइरहेको छ ।