काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमण गर्ने भएका छन् । जयशंकर प्रधानमन्त्री वालेन्द्र शाहलाई ब्रिक्स शिखर सम्मेलनको निम्तो दिन अगस्टको अन्तिम साता नेपाल आउन लागेका हुन् ।
परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहलाई१८औँ ब्रिक्स शिखर सम्मेलनको निम्तो दिन उहाँ नेपाल आउन लागेका हुन् ।१८औँ ब्रिक्स शिखर सम्मेलन सेप्टेम्बर १२(१३ मा भारतको नयाँ दिल्लीमा आयोजना हुने तय भएको छ ।
भारतले यसअघि पनि ब्रिक्स शिखर सम्मेलनमा नेपालका प्रधानमन्त्रीलाई निमन्त्रणा गरेको थियो । भारतको निमन्त्रणामा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड २०७३ असोजमा भारतमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका थिए ।
त्यतिबेला प्रचण्ड, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया राष्ट्रपति सी चिनफिङ बीच भेटघाट भएको थियो । ब्रिक्स सम्मेलनमा ब्राजिल, चीन, इजिप्ट, इथियोपिया, भारत, इन्डोनेसिया, इरान, रूस, साउदी अरेबिया, दक्षिण अफ्रिका र युनाइटेड अरब इमिरेट्स सदस्य छन् ।