काठमाडौं । रसुवामा विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा एक जनाको ज्यान गएको छ। सोमबार बिहान ११ बजे आमाछोदिङमो गाउँपालिका(३ मान्चेटमा रहेको सेनाको पोस्टभित्र विस्फोट हुँदा एक जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी अनिल थापाकाअनुसार विस्फोटमा परी घाइते भएका ७ जनामध्ये एक जनाको मृत्यु भएको हो। मृत्युु हुनेमा आमाछोदिङमो-४ का स्थानीय तथा उक्त हाइड्रोमा कार्यरत सोनाम घले रहेका छन् ।
डिएसपी थापाका अनुसार लाङटाङ भोटेकोशी हाइड्रोपावरका लागि प्रयोग हुने केही विस्फोटक पदार्थ डिस्पोज गर्न सेनाको पोष्टमा लगिएको थियो। सोही क्रममा बिस्फोट भएको हो। यस घटनामा परी घाइते तीन जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
दुई जना सैनिक र एक जना कर्मचारीलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौंस्थित सेनाको छाउनी अस्पतालमा ल्याइएको छ । नेपाली सेनाका प्रवक्ता एवं सहायक रथि राजाराम बस्नेतले हाइड्रो प्रोजेक्टको म्याद गुज्रेको विस्फोटक पदार्थ नष्ट गर्नेक्रममा विस्फोट भएको बताए।