भक्तपुर । भक्तपुरबाट प्रकाशित हुँदै आएको साप्ताहिक पत्रिका ‘परिवर्तनशील आवाज’ १९औँ वर्षमा प्रवेश गरेको छ । २०६२/०६३ को राजनीतिक परिवर्तनपछि २०६४ सालदेखि व्यावसायिक प्रकाशन सुरु गरेको पत्रिकाले आफ्नो १९औँ वार्षिकोत्सव पत्रकार भेटघाट तथा शुभकामना आदान प्रदान गरेर मनाएको हो ।
पत्रिकाका प्रकाशक तथा सह–सम्पादक रामचन्द्र प्रजापतिको अध्यक्षतामा आइतबार आयोजित वार्षिकोत्सव कार्यक्रममा शिक्षा तथा समाजसेवी नरेन्द्रभक्त हाडा प्रमुख अतिथि थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि हाडाले राष्ट्रिय एकता, अखण्डता र नेपालको भूराजनीतिक संवेदनशीलता जोगाउने महत्वपूर्ण जिम्मेवारी पत्रकारिताको काँधमा रहेको बताए । उनले सञ्चारमाध्यमले कलममार्फत सरकार तथा सम्बन्धित निकायलाई निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिए ।
‘देश रहे मात्र नेपाली रहन्छन्, त्यसैले राष्ट्र सधैँ हाम्रो शिरमा हुनुपर्छ,’ हाडाले भने । उनले नेपाल भाषा, राष्ट्रिय भाषा र अन्तर्राष्ट्रिय भाषालाई राज्यले प्राथमिकताका साथ अघि बढाउनुपर्ने आफ्नो पुरानै धारणा रहेको समेत बताए । कार्यक्रममा पत्रकार ताराचन्द्र देवकोटा, राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल कुमार आचार्य, क्रियाशील पत्रकार मञ्चका अध्यक्ष रमेश गिरी, नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका पूर्वअध्यक्ष पुष्कराज बुढाथोकी, रफ्तार सञ्चार क्लबका अध्यक्ष सुशील बन्धु थापा लगायतले पत्रिकाको निरन्तरता र पत्रकारितामा पुर्याएको योगदानको चर्चा गर्दै शुभकामना व्यक्त गरे ।
स्थानीय तहअन्तर्गत वर्गीकृत यो पत्रिकाले जिल्लाका समसामयिक विषय, विकास निर्माण, जनसरोकार तथा स्थानीय गतिविधिमाथि निरन्तर खबरदारी गर्दै आएको छ । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको पक्षमा आवाज उठाउँदै आएको पत्रिकाले सम्बन्धित निकायलाई प्रश्न गर्ने तथा नागरिकलाई सूचना र जानकारी प्रदान गर्ने कार्यलाई आफ्नो प्राथमिकतामा राखेको जनाएको छ ।
सम्पादक कृष्ण प्रजापतिले सञ्चालन गरेको कार्यक्रममा भक्तपुरमा सक्रिय पत्रकार, सञ्चारकर्मी तथा व्यवसायी गरी करिब दुई दर्जनको सहभागिता रहेको थियो । ‘परिवर्तनशील आवाज’ले प्रत्येक वर्ष आफ्नो स्थापना दिवसका रूपमा वार्षिकोत्सव मनाउँदै आएको छ । १९औँ वर्ष प्रवेशसँगै पत्रिकाले स्थानीय मुद्दा, जनसरोकार र सार्वजनिक उत्तरदायित्वका विषयमा अझ प्रभावकारी ढंगले आवाज उठाउँदै पत्रकारिताको यात्रालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।