काठमाडौं । चालु आर्थिक वर्ष २०८३ को वैशाख १ गतेदेखि साउन २३ गतेसम्म देशभर ४ हजार ४०८ वटा विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार उक्त अवधिमा विपद्का घटनामा परी २०५ जनाको मृत्यु भएको छ।
प्राधिकरणका अनुसार विपद्का घटनामा ५ जना बेपत्ता भएका छन् भने १ हजार ३२४ जना घाइते भएका छन्। यस अवधिमा भएका विपद्का घटनाबाट देशभर ५ हजार ४५७ परिवार प्रभावित भएका छन्। मानवीय क्षतिको हिसाबले सबैभन्दा बढी मृत्यु सर्पदंशबाट भएको छ।
वैशाखयता सर्पदंशका ८०१ घटना भएका छन्। ती घटनामा ५९ जनाको मृत्यु भएको छ भने ७४९ जना घाइते भएका छन्। त्यसैगरी २३५ वटा चट्याङका घटनामा २५ जनाको मृत्यु भएको छ। लेक लाग्ने ५७ घटनामा २३ जना, आगलागीका १ हजार ६० घटनामा २० जना र पहिरोका ८१५ घटनामा २० जनाले ज्यान गुमाएका छन्।
विपद्का घटनाबाट प्रभावित परिवारको संख्या पनि उल्लेख्य रहेको प्राधिकरणले जनाएको छ। हावाहुरीका ४८० घटनाबाट मात्रै १ हजार ३५८ परिवार प्रभावित भएका छन्। त्यस्तै, आगलागीका घटनाबाट १ हजार १७० परिवार प्रभावित भएका छन्। प्राधिकरणको तथ्याङ्कअनुसार पछिल्लो अवधिमा बाढी, पहिरो, आगलागी, चट्याङ, हावाहुरी तथा सर्पदंशलगायतका विभिन्न विपद्का घटना देशभर भएका छन्।