काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तीन समस्याग्रस्त सहकारीका १४८ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ।
समितिका अनुसार गोरखा, पशुपति र कान्तिपुर सहकारीका साना बचतकर्तालाई पहिलो चरणमा रकम फिर्ता गरिएको हो। समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट बचतकर्तालाई रकम फिर्ता गरिएको समितिले जनाएको छ।
सरकारले समस्याग्रस्त सहकारीबाट असुल भएको ऋण तथा व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित बचतकर्तालाई नै फिर्ता गर्ने व्यवस्था गरेको छ। सोहीअनुसार पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई प्राथमिकता दिइएको हो।
समितिले बचतकर्ताको बचत रकमका आधारमा वर्गीकरण गरी क्रमशः अन्य बचतकर्ताको रकमसमेत फिर्ता गर्दै जाने जनाएको छ।
समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापन गरी प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्थाबमोजिम निरन्तर सञ्चालन भइरहेको समितिले स्पष्ट पारेको छ।