काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा आज कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षाको अवस्था रहनेछ।
हाल कोशी, मधेस र बागमती प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहेको छ। तराईका अधिकांश भूभागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। बागमतीका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ भने कोशी, मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुनसक्ने पूर्वानुमान छ।
कोशी र बागमती प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। तराईका केही स्थानमा पनि मध्यम वर्षा हुनसक्ने जनाइएको छ।
दिउँसो कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान छ।
रातिको समयमा पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा पनि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
त्यस्तै, कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा राति भारी वर्षा हुने सम्भावना छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रानसहितको बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले महाशाखाले स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।