करदाता प्रोत्साहनमा १० लाख जित्ने हेमराज र १ लाख विजेता सपनालाई अर्थमन्त्रीको बधाई फोन

करदाता प्रोत्साहनमा १० लाख जित्ने हेमराज र १ लाख विजेता सपनालाई अर्थमन्त्रीको बधाई फोन

शनिवार, श्रावण २३ २०८३
शनिवार, श्रावण २३ २०८३
  • करदाता प्रोत्साहनमा १० लाख जित्ने हेमराज र १ लाख विजेता सपनालाई अर्थमन्त्रीको बधाई फोन

    काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रममा १० लाख रुपैयाँ जितेका कञ्चनपुरका हेमराज जोशी र १ लाख रुपैयाँ विजेता रुपन्देहीकी सपना खरेललाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले फोन गरेर बधाई दिएका छन्।

    सरकारले बजेटमार्फत घोषणा गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पहिलो १५ दिनको नतिजा सार्वजनिक गर्दै आन्तरिक राजस्व विभागले १० लाख रुपैयाँका एक जना र १ लाख रुपैयाँका १५ जना विजेता छनोट गरेको थियो।

    कञ्चनपुरको पुनर्वास नगरपालिकाका जोशीले साउन ७ गते शिवकृष्ण जेनरल स्टोर्सबाट २५० रुपैयाँको सामान अनलाइन बैंकिङमार्फत क्यूआर स्क्यान गरी खरिद गरेका थिए। सोही कारोबारका आधारमा उनी १० लाख रुपैयाँको बम्पर उपहारका विजेता बनेका हुन्।

    विजेता बनेको जानकारी दिन अर्थमन्त्री वाग्लेले जोशीलाई फोन गरी बधाई दिएका थिए। अर्थमन्त्रीको फोनबाट अकमक्क भएका जोशीले धन्यवाद व्यक्त गरेका थिए।

    त्यस्तै, रुपन्देहीकी सपना खरेलले साउन ९ गते देवदह नगरपालिका–मिलनचोकस्थित शुभसिद्धी सप्लायर्सबाट ९ सय रुपैयाँको तरकारी खरिद गरेकी थिइन्। उक्त खरिदका आधारमा उनी १ लाख रुपैयाँको उपहार विजेता बनेकी हुन्।

    अर्थमन्त्री वाग्लेले फोन गरेर पुरस्कार जितेको जानकारी दिँदा खरेलले सुरुमा विश्वास नै गर्न सकेकी थिइनन्। अर्थमन्त्रीले आफूले खरिद गरेको सामानको बिल सुरक्षित राख्न उनलाई आग्रह गरेका थिए।

    अर्थमन्त्री वाग्लेले दुवै विजेतालाई आन्तरिक राजस्व विभागले सम्पर्क गरी पुरस्कार प्राप्त गर्ने प्रक्रियाबारे विस्तृत जानकारी दिने बताएका छन्। अन्य विजेतालाई पनि फोनमार्फत बधाई दिने प्रयास गरिएको भए पनि उनीहरूसँग सम्पर्क हुन नसकेको जनाइएको छ।

    सरकारले साउन १ गतेदेखि करदाता प्रोत्साहन उपहार कार्यक्रम कार्यान्वयनमा ल्याएको हो। अनलाइन माध्यमबाट वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता प्रणालीमार्फत स्वतः उपहार कार्यक्रममा सहभागी हुने व्यवस्था गरिएको छ। तर, वस्तु तथा सेवा खरिद गर्दा भ्याट वा प्यान बिल लिनुपर्नेछ।

    नगदमा खरिद गर्ने उपभोक्ताले भने सक्कल भ्याट वा प्यान बिल लिएर आन्तरिक राजस्व विभागको उपहार पोर्टलमा विवरण दर्ता गर्नुपर्नेछ।

    कार्यक्रमअन्तर्गत प्रत्येक दिन एक जनालाई करकट्टीपछि १ लाख रुपैयाँ र प्रत्येक १५ दिनमा दुई जनालाई १०–१० लाख रुपैयाँको नगद प्रोत्साहन दिने व्यवस्था गरिएको छ। उपहारको घोषणा प्रत्येक महिनाको १६ गते र महिनाको अन्तिम दिन गरिनेछ।

    १ लाख रुपैयाँको पुरस्कारका लागि १ लाख ३३ हजार ३३४ रुपैयाँबाट २५ प्रतिशत कर कट्टी गरी विजेतालाई १ लाख रुपैयाँ उपलब्ध गराइनेछ। १० लाख रुपैयाँको पुरस्कारमा पनि प्रचलित व्यवस्थाअनुसार २५ प्रतिशत कर लाग्नेछ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij