काठमाडौं । आन्तरिक राजस्व विभागले बिल लिने संस्कृतिको विकास गरी राजश्व बढाउँने उदेश्यले शुरु गरेको करदाता उपहार कार्यक्रमको पहिलो विजेता घोषणा आज गरिने भएको छ । विभागले साउन १ यता १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गरी सक्कल प्यान तथा भ्याट बिल लिएका उपभोक्ता करदाताहरू मध्येबाट १५ जनालाई जनही एक लाख र एक जनालाई १० लाख रुपैयाँ पुरस्कार दिन लागिएको हो ।
बिभागका अनुसार, पहिलो लटमा आज हरेक दिनको १ लाख रुपैयाँका दरले १५ जना विजेता र १५ दिनको बम्पर पुरस्कार वापत १० लाख रुपैयाँका विजेता १ जना लक्की ड्रमार्फत विजेता घोषणा गर्न लागिएको हो । विभागले साउन १ गतेदेखि सो कार्यक्रम लागू गरेको थियो । सोहि अजुसार पहिलो पटक १५ गतेसम्मका विजेता घोषणा गर्न लागिएको हो ।
आर्थिक वर्ष २०८३÷८४ को बजेटमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई कर प्रणालीमा ल्याउन र बिल लिने संस्कृतिको विकास गर्न करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए । कार्यक्रमअन्तर्गत एक सय रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता प्रोत्साहन कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था छ ।
सो व्यवस्था अनुसार, सरकारले हरेक दिन एक जनालाई एक लाख र हरेक १५ दिनमा एक जनालाई बम्परमा १० लाख उपहार प्रदान गरिने छ । पहिलो प्रोत्साहन कार्यक्रम साउन १६ गते सार्वजनिक गर्ने घोषणा गरिए पनि प्राविधिक तयारी नपुगेका कारण केही ढिलाइ भएको विभागले जनाएको छ ।