काठमाडौं । सरकारले कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ । मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्यसेवा, संसद्सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीको नयाँ तलबमान र सुविधा स्वीकृत गर्ने निर्णय गरेको हो ।
चालु आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गर्ने र त्यसमा थप १० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने घोषणा गरेको थियो । तलब बढाउने उक्त घोषणा कार्यान्वयनका लागि अर्थ मन्त्रालयले नयाँ तलबमान कायम गरेर मन्त्रीपरिषद्मा प्रस्ताव पेस गर्नुपर्ने हुन्छ ।
अर्थको सोही प्रस्तावलाई मन्त्रीपरिषद्ले स्वीकृति दिएको हो । यससँगै साउन १ गतेदेखि लागु हुने गरी कर्मचारीले सो तलब प्राप्त गर्ने छन् । बढेको तलब मन्त्रालयमातहतका निकाय, समिति, सार्वजनिक संस्थानमा पनि कार्यान्वयनमा आउने छ ।