काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा लगातार दोस्रो दिन पनि ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ८ हजार रुपैयाँले बढेर २ लाख ९६ हजार रुपैयाँ पुगेको छ।
बुधबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो। बिहीबारको वृद्धिसँगै पछिल्लो दुई कारोबार दिनमा मात्रै सुनको मूल्य प्रतितोला १२ हजार २ सय रुपैयाँले बढेको छ।
यस्तै, चाँदीको मूल्य पनि निरन्तर उकालो लागेको छ। महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला ९५ रुपैयाँले बढेर ४ हजार ५ सय ७० रुपैयाँ पुगेको छ। बुधबार पनि चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँले बढेर ४ हजार ४ सय ७५ रुपैयाँ कायम भएको थियो।
यसअघि नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य माघ १५ गते कायम भएको थियो। उक्त दिन सुनको मूल्य एकैदिन प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।
त्यस्तै, चाँदीको मूल्यमा हालसम्मकै ठूलो गिरावट माघ १८ गते देखिएको थियो। उक्त दिन चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो। चाँदीको हालसम्मकै उच्च मूल्य भने माघ १५ गते प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो।
सुन र चाँदीको मूल्यमा लगातार भइरहेको उतारचढावले नेपाली बजारमा बहुमूल्य धातुको कारोबारमा समेत प्रभाव पारिरहेको छ।