काठमाडौं । काठमाडौंसहित देशका ३० जिल्लामा आज साना नदी तथा खोलामा पानीको बहाव अचानक बढेर आकस्मिक बाढी आउन सक्ने जोखिम देखिएको छ। बाढी पूर्वानुमान महाशाखाले बिहीबार बिहान जारी गरेको पूर्वानुमानअनुसार दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, नुवाकोटमा आकस्मिक बाढी आउन सक्ने देखिएको छ।
त्यस्तै धादिङ, रसुवा, गोरखा, चितवन, नवलपरासी पूर्व–पश्चिम, रुपन्देही, कपिलवस्तु, पाल्पा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, डोटी, डडेल्धुरा, कञ्चनपुर र कैलालीमा जोखिम रहेको जनाएको हो। महाशाखाका अनुसार ती जिल्लाका स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।
विशेषगरी नदी तथा खोलाको आसपास र तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। यद्यपि, देशका प्रमुख नदीहरूको अवस्था भने हाल सामान्य रहेको छ। बिहीबार बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली तथा तिनका सहायक नदीहरूमा बहाव सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ।
कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीको बहाव पनि सामान्य सीमामै रहेको छ। महाशाखाले आज मात्र नभई भोलि र पर्सिसमेत देशका सातै प्रदेश भएर बहने केही स–साना नदीमा पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान गरेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी, खोला तथा खोल्सानजिकका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र मौसम तथा बाढीसम्बन्धी सूचनामा ध्यान दिन आग्रह गरिएको छ।
