काठमाडौं । आकर्षक तलबसहित वैदेशिक रोजगारीका लागि युरोपमा पठाइदिने जनाउँदै १९ लाख ६० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मार्स नामक मेनपावरका सञ्चालक काभ्रेको पनौती नगरपालिका–१ का ४१ वर्षीय जयराम पौडेल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उहाँका अनुसार पक्राउ परेका पौडेलले पदमकुमारी श्रेष्ठसहित दुई जनालाई वैदेशिक रोजगारीको लागि युरोप पठाइदिने र त्यसको लागि २० लाख रुपैयाँ लाग्ने प्रलोभन देखाएका थिए । पक्राउ परेका पौडेले युरोप पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाई ३ लाख रुपैयाँ भन्दा धेरै तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटक–पटक गरी जम्मा १९ लाख ६० हजार रुपैयाँ ठगी गरेको जनाइएको छ ।
पक्राउ परेका पौडेललाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए । आकर्षक तलबमा विदेश पठाइदिन्छु भनेकै भरमा कसैलाई पनि रकम नदिन पनि प्रहरीले आग्रह गरेको छ ।