धुर्कोटको ‘विचित्र गुफा’मा पहिलो पटक पुगे १७ जना विदेशी पर्यटक

धुर्कोटको ‘विचित्र गुफा’मा पहिलो पटक पुगे १७ जना विदेशी पर्यटक

मंगलवार, फाल्गुण २९ २०८०
मंगलवार, फाल्गुण २९ २०८०
  • धुर्कोटको ‘विचित्र गुफा’मा पहिलो पटक पुगे १७ जना विदेशी पर्यटक

    गुल्मी । धुर्कोट गाउँपालिकामा रहेको विचित्र गुफामा पहिलो पटक विदेशी पर्यटक पुगेका छन् । धार्मिक एवं ऐतिहासिक तथा पर्यटकीय क्षेत्रका रुपमा पहिलोपटक १७ फ्रान्सेली नागरिक गुफा हेर्न पुगेका हुन् ।

    यति धेरै सङ्ख्यामा बाह्य पर्यटकको आगमन भएपछि गुफा समिति र गाउँपालिकाले टीका तथा माला लगाएर पर्यटकलाई स्वागत गरेको गाउँपालिकाका अध्यक्ष भूपाल पोख्रेलले बताए । 

    पहिलो पटक गुफा पुगेकी ८२ वर्षीय  फ्रान्सेली नागरिक मार्गट लिनदेन गुफा हेरेपछि आफू निकै खुसी भएको बताइन् । निकै सुन्दर र रमणीय ठाउँ भएको भन्दै उहाँले आफू स्वदेश फर्केपछि अरू साथीहरुलाई पनि यसको महत्व र सुन्दरताका बारेमा जानकारी गराउने बताए । गुफाभित्र देखिएका दृश्य साह्रै आकर्षक र भिन्नभिन्न आकृतिले प्राकृतिक रुपमा सजिएको उनीको भनाइ थियो । गुफामा पुगेका पर्यटकले भजन गीतको तालसँगै नाचगान गरेर एकापसमा खुसी साटासाट गरेका थिए । 

    गुल्मीको सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा धुर्कोट–५ अन्तर्गत वस्तुमा यो गुफा रहेको छ । २०४५ सालमा बारीमा मकै खान गएको बाँदरलाई लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले पहिलो पटक उक्त ठाउँमा गुफा रहेको पत्ता लगाएका थिए । विगत लामो सयमदेखि विचित्र गुफा हेर्नका लागि आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । 

    पछिल्लो समयमा यसको प्रचारप्रसार स्वदेशमा मात्र नभई विदेशमा पनि हुन थालेपछि विदेशी पर्यटकको समेत आगमन हुन थालेको हो । विभिन्न समयमा एक–दुईजना काम विशेषले आएको समयमा फाटफुट रुपमा विदेशी नागरिक गुफा हेर्नका लागि आउने गरे पनि यस पर्यटककै रुपमा गुफा हेर्नका लागि यति धेरै फ्रान्सेली नागरिक आएको गाउँपालिका अध्यक्ष पोख्रेलले जानकारी दिए । 

    गाउँपालिकाको आग्रहमा अरविन्द्र आश्रममा योग साधनाका लागि आएका उनीहरु आश्रमका गुरु रामचन्द्र दासको नेतृत्वमा टोलीले गुफाको अवलोकन गरेको हो । गुफाको लम्बाइ १ सय ८५ मिटर र चौडाइ ३ सय ५० मिटर रहेकोे छ । यति लामो भूभागमा फैलिएको विचित्र गुफाको मुख्य द्वारबाट भित्र पसेपछि थप पाँच द्वारको प्राकृतिक आकार देख्न सकिन्छ । 

    स्थानीयका अनुसार २०४५ सालको असारमा गुफा पत्ता लागेको हो । गुफा बाहिरको प्राकृतिक सुन्दरता र हरियालीले गुफाको थप शोभा बढाएको छ । गुुफाको भित्तामा देखिने धार्मिक महत्व बोकेका विभिन्न आकृतिका चित्रले थप आकर्षण बढाएको छ । 

    गुफा क्षेत्रको विकासका लागि अहिलेसम्म गाउँपालिका, प्रदेश र सङ्घबाट गरी २ करोड रुपैयाँभन्दा बढी रकम लगानी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जनाकारी दिए । उक्त गुफा सदरमुकाम तम्घासबाट १८ किलोमटरको दूरीमा पर्दछ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij