भक्तपुर । भक्तपुरमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्लाको चाँगुनारायण नगरपालिका –३ झौखेल पिपलबोट नजिकै एक युवकले कुटपिटगरी श्रीमतीको हत्या गरेका हुन् । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका –८ घर भई झौखेल बस्दै आएका २५ वर्षीय सन्तोष भुजेलले बिहिवार साँझ सवा ६ बजे डेरामै कुटपिट गर्दा २१ वर्षीया श्रीमती पवित्रा राईको मृत्यु भएको बताइएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार कुटपिटबाट गम्भिर घाईते भएकी पवित्राको उपचारको क्रममा भक्तपुर अस्पताल पु¥याएको एक घण्टामै मृत्यु भएको थियो । सन्तोषले मादक पदार्थ सेवन गरी श्रीमती पवित्रालाई कुटपिट गरेको प्रहरीले जनाएको छ । पवित्राको शव पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमै राखिएको छ । प्रहरीले सन्तोषलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।